अनलाईन कक्षा बन्द भएपछि निजि शिक्षकहरु सडकमा

छहारी संवाददाता
साउन ४, २०७७

वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप (अनलाइन कक्षा) बन्द गरेपछि मकवानपुरका निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

इष्टुको राष्ट्रिय समितिको निर्णय अनुसार संस्थागत शिक्षक युनियन राष्ट्रिय समिति (इष्टु) जिल्ला समन्वय समिति र नगरकार्य समितिले आज संयुक्त वक्तव्य निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आइतबारदेखि मकवानपुरका सबै निजी विद्यालयले अनलाइन कक्षा बन्द गरेर शिक्षकलाई बेतलब बिदा दिएपछि शिक्षकहरुको संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अान्दाेलनमा उत्रिएका छन् ।

इष्टु मकवानपुरका अध्यक्ष सचिन लामा र हेटौंडा नगरका अध्यक्ष सिएम रिमालद्वारा जारी वक्तव्यमा साउन ५ गतेदेखि ८ गतेसम्म प्याब्सन र एनप्यााब्सनको निर्णय विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

साउन ५ गते प्याब्सन र एनप्यााब्सनको तालाबन्दी गर्ने र विरोध पत्र टाँस्ने, साउन ६ गते बुद्धचोकमा कोणसभा गर्ने, साउन ७ गते मुख्यमन्त्री कार्यालयमा धर्ना दिने र साउन ८ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको उल्लेख छ ।

अनलाइन कक्षा बन्द गरेर शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयको संस्थागत शिक्षक युनियन राष्ट्रिय समितिले विरोध गर्दै आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*