सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, मेला, महोत्सव, सप्ताह तथा अन्य कुनैपनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
बिहीबार आज हेटौंडामा बसेको सर्वपक्षीय बैठकले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मको लागि कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो । जिल्लावासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन समेत अनुरोध गरिएको छ ।
बैठकले जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न मान्छेको भीडमा नजा तथा, नियमित साबुन पानीले हात धुन, खोक्दा र हाछ्यूं गर्दा नाक मुख छोप्न, फ्लू जस्तो देखा परे चिकित्सकसंग परामर्श लिन, जंगली तथा घरेलु पशुपन्छीसँग असुरक्षित सम्पर्कबाट टाढा रहन र माछामासु अण्डा खाँदा राम्रोसँग पकाएर मात्र खान अपिल गरेको छ ।
त्यसैगरी बैठकले बजार अनुगमन समिति पनि बनाउने निर्णय गरेको छ । मास्कको कालोबजारी भइरहेको समाचार बाहिरिएपछि बजार अनुगमन गर्न समिति पनि बनाउन लागिएको हो ।
बैठकमा बागमती प्रदेशको प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।







