धार्मिक सहिष्णुता नेपालको पहिचानः जिसस प्रमुख खुलाल

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले धार्मिक सहिष्णुता नेपालको पहिचान भएको धारणा राख्नु भएको छ ।
हेटौंडा–१२ बेलडाँडा स्थित श्री ह्रिग्याल छ्युलिङ्ग गुम्बाद्धारा आयोजित प्रथम १० करोड बज्र गुरु जप तथा विश्व शान्ति पुजाको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।
प्रमुख खुलालले पछिल्लो समय विभिन्न कारणले नेपालका जातजातिहरू बीच तिक्तता पूर्ण सम्बन्ध विकास हुन थालेको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । समाज अराजकता तर्फ उन्मुख भएको भन्दै यसलाई समयमै रोक्न जरुरी रहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो–'अहिले त्यस्तो तिक्तता पोख्ने ठाउँ सामाजिक सञ्जाल भएको छ, अरुलाई होच्याउन पाए आफु ठुलो भएँ भन्नेहरु समाजमा बढ्दै गएका छन् त्यसलाई रोक्न सकारात्मक सोचको विकास गर्नु पर्छ ।'
बुद्ध जन्मेको देशका रुपमा पहिचान बनाएको नेपालमा वुद्धको उपदेश सबैले अनुसरण गर्नुपर्ने प्रमुख खुलालको भनाई थियो ।
धार्मिक सहिष्णुता नेपालको पहिचान भएको भन्दै यसलाइ जोगाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने प्रमुख खुलालले बताउनुभयो । बुद्धको उपदेशको पालना गर्दै शान्ति, सदभाव र सेवामा समर्पित हुनु पर्ने प्रमुख खुलालले बताउनुभयो ।
गुम्बाका अध्यक्ष आश बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका प्रमुख लामा लगायतको सहभागिता रहेको थियो ।







