नागरिकका मौलिक अधिकार रक्षा गर्ने प्रदेश र स्थानीय सरकार प्रतिबद्धता

प्रदेश र स्थानीय सरकारले संबिधानले प्रत्याभुत गरेको नागरिकका मौलिक अधिकार रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश तीन कार्यालयले आज नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रियामा प्रदेश सांसद, प्रदेश नीति तथा योजना आयोगका सदस्य, प्रदेशस्तरीय मन्त्रालयका सचिव तथा स्थानीय तहका जनप्रतिनिधीहरुले नागरिकको मौलिक अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रदेश तीनको नीति तथा योजना आयोगका कार्यबहाक उपाध्यक्ष श्यामकुमार बस्नेतले नागरिकको सबैखाले अधिकार सुनिश्चिततासंगै कर्तव्यबोध पनि गराउनुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार नागरिकको मौलिक अधिकारभित्र पर्ने भएकोले अधिकारको रक्षा गर्दै प्राप्तीका लागि नागरिकको कर्तव्य केहो भन्ने कुरामा पनि छलफल गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामीले नागरिकका हक अधिकारका लागि थुप्रै कानुनहरु निर्माण भएका र निर्माणको क्रममा पनि रहेको भन्दै बनेका कानुनको कार्यान्वयन भए नभएको पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश तीन सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाएको बताउनुभयो ।
मन्त्रालयले नागरिकको स्वास्थलगाई सुनिश्चित गर्न मुख्यमन्त्री जनता स्वास्थ योृजना, एक बिद्यालय एक नर्स, जिल्ला अस्पताल सुदृढिकरण कार्यक्रम, सरसफाई सम्बन्धि प्रदेश स्तरीय कार्यक्रम, शिक्षामा सबै नागरिकको पहुँच पुर्याउन सामुदायिक बिद्यालयमा बस वितरण, गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।
प्रदेशलाई बाल बिबाहमुक्त प्रदेश बनाउन तयारी कार्यक्रम पनि अघि बढाएको उहाँले बताउनुभयो । यसैगरी कृषितर्फ बिषादी रहीत तरकारी खेतीको लागि प्रोत्साहन कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले उपमहानगर भित्रका नागरिकका लागि हरेक वडामा स्वास्थ केन्द्र स्थापना, पाटन अस्पतालसंगको सहकार्यमा बृद्धबृद्धाको लागि घरदैलो उपचारसेवा, क्षयरोगी पत्ता लगाउन हेल्थ क्याम्प, बिषादी रहीत करेसा खेती जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
यस्तै विपन्न नागरिकका लागि निशुल्क स्वास्थ बीमा, शिक्षामा सहजताका लागि सामुदायिक बिद्यालयमा बस सेवा सञ्चालन जस्ता कार्यक्रमहरु उपमहानगरले गर्दै आएको र नागरिकको सबै अधिकारलाई प्राथमिकताका साथ पुरा गर्ने उपप्रमुख लामाले बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधि पूर्णभद्र भुषालले मनहरीमा करीब ३० जना बालबालिका अझैपनि शिक्षाको पहुँच बाहिर रहेको बताउनुभयो । विभिन्नताका कारणले उनीहरुलाई बिद्यालयमै टिकाइराख्न समस्या परिरहेको खनालको भनाई छ ।
कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले स्वास्थकर्मीको अभावमा राज्यले तोकेको सेवा प्रदान गर्न समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ संयोजक सुपेन्द्र कार्की, कृषि शाखा प्राविधिक रुपा खतिवडा, सिविनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, अस्मिता नेपालकी आरती पाठक लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम इन्सेक प्रदेश तीनका संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रममा इन्सेक प्रदेश तीन का कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेक अभियानबारे जानकारी गराउनु भएको थियो ।







