कुष्माण्ड नवमी मेलाको तयारी पुरा तस्विरहरुकरीब १० हजार भक्तजनले बुधबार कुष्माण्ड नवमी मेला भर्ने विश्वास
मकवानपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष जस्तै यसवर्ष पनि कुष्माण्ड नवमी मेला लाग्दैछ ।
कुष्माण्ड नवमी यषवर्ष कार्तिक २० गते अर्थात भोली बुधबार परेको छ । यस दिन कुबिन्डोमा सुनको प्रतिमा राखी दान गर्नाले भूमी दान गरे बराबरको पुण्य मिल्ने कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।
परापूर्व कालमा देवता र राक्षस बीच युद्ध हुँदा राक्षस मारिएपनि उसको केशबाट कुबिण्डोको लहरा उत्पति भएको र त्यसैको फलका रुपमा कुबिण्डो फलेको पौराणिक कथन रहेको न्यौपानेले बताउनुभयो । त्यही कुबिण्डोमा सुनको प्रतिमा राखी भनवानलाई अर्पण गर्नाले सारा दुख कष्ट हटेर जाने धार्मिक विश्वास रहिआएको उहाँले सुनाउनुभयो ।
कुबिण्डो दान गर्न यसवर्ष पनि करीब १० हजारको संख्यामा भक्तजनहरु धाममा आउने अध्यक्ष न्यौपानेको विश्वास छ । भक्तालुहरुको सहजताका लागि समितिले द्वार निर्माण, कुबिण्डो दान गर्ने मण्डप निर्माण लगायत मन्दिर सरसफाइको काम सम्पन्न गरेको छ ।
कुष्माण्ड नवमी मेलामा १०८ धारामा स्नान, कुबिन्डो दान, हवन, भजन कीर्तन लगायतका कार्यहरु हुने न्यौपानेले जानकारी दिनुभयो । कुष्माण्ड नवमी मेलासंगै मकर मेला, एकादशी, साउने सोमबारहरुमा भक्तालुहरुको घुईचो लाग्ने गर्दछ ।







