सरकारी कार्यालयमै छुवाछुतः शालिकराम जम्कट्टेल

प्रदेश तीनको आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सरकारी कार्यालयमै दलित, धनी ,गरिब बीच नै छुवाछुत र भेदभाव हुने गरेको बताउनु भएको छ ।
आज हेटौडामा भएको दलित मानवअधिकार प्रवर्दनका लागि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री मन्त्री जम्कट्टेलले राज्यले दिने हरेक सेवा सुविधा गरिब र दलितको पक्षमा नहुने गरेको बताउँदै पहँुच भएकाहरुले मात्र सरकारी अनुदानहरु पाउने गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा आत्मसम्मानका लागि प्रयत्न डिग्नीटीका कार्यसमिति सदस्य सुस्मा छिनालले कार्यपत्र प्रस्तु्त गर्दै यौन पेशामा ७५ प्रतिशत दलित महिला रहेको जानकारी दिनुभयो । काभ्रे जिल्लामा सबैभन्दा बढी दलित छुवाछुत हुने गरेको भन्दै उहाँले दलितलाई कुनै समस्या पर्दा प्रहरीले समेत असहयोग गरेको गुनासो गर्नुभयो ।
आत्मसम्मानका लागि प्रयत्न डिग्नीटीको आयोजना तथा अष्ट्रेलियन एडको सहयोगममा कार्यक्रम भएको हो ।
आत्मसम्मानका लागि प्रयत्न डिग्नीटीका अध्यक्ष रत्न विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जुनेली श्रेष्ठ, प्रदेश ३ का प्रहरी प्रमुख दिपेन्द्र जिसी, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे लगायतकाको आतिथ्यता रहेको थियो ।







