सिविन बालहेल्पलाइन मकवानपुरमा ६ महिनामा १ सय ३७ वटा घटना दर्ता

सिविन बाल हेल्पलाइन जिल्ला समन्वय समिति मकवानपुरले विगत ६ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्को अध्यक्षतामा बिहिबार बसेको समितिको बैठकममा सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
गत जनवरी देखि–जुन ११ सम्म बाल हेल्पलाइनमा १ सय ३७ वटा घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । जसमा ६३ वटा अर्थात ४६ प्रतिशत घटना बालकसँग सम्बन्धित रहेका छन् भने ७४ वटा अर्थात ५४ प्रतिशत घटना बालिकासँग सम्बन्धित छन् ।
त्यसैगरी मकवनपुर जिल्लाका ५२ बालक र ७० बालिका गरी १२२ अर्थात ८९.०५ प्रतिशत, बारा जिल्लाको एउटा बालकको घटना ०.७२ प्रतिशत, रौतहट जिल्लाको एउटा बालकको घटना ०.७२ प्रतिशत, चितवन जिल्लाको एउटा बालकको घटना ०.७२ प्रतिशत घटना दर्ता भएका छन् भने पर्सा जिल्लाका ३ बालक २.१८ प्रतिशत घटना दर्ता भएका छन् ललितपुर जिल्लाको एउटा बालकको ०.७२ प्रतिशत घटना दर्ता भएका छन् ।
घटना दर्ता भएका अन्य जिल्लाहरुमा मोरङ, काभ्रे, सिन्धुली, भोजपुर, उदयपुर, सर्लाही, र पाँचथरका रहेका छन् । बाल हेल्पलाइनमा भारतबाट समेत घटना आउने गरेको प्रतिवेदनमा उल्लेख छ जसमा ६ महिनाको अवधिमा १० बालकको घटना दर्ता भएको छ ।
बाल हेल्पलाइनबाट टेलिफोन मार्फत ८५५ जनालाई परामर्श सेवा प्रदान गरिएको छ भने जोखिमपूर्ण अवस्थामा परेका ३१ बालक र ६ बालिक गरी ३७ जना बालबालिकाको उद्दार गरिएको छ । ४९ बालक र ३ बालिका गरी ५२ जना बालबालिकालाई आपतकालीन आवास सुविधा प्रदान समेत प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी ४० बालक र ३ बालिका गरी ४३ जना बालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको छ भने बाालबालिका र परिवारका सदस्यहरु ४६ पुरुष र ४९ महिला गरी ९५ जनालाई परामर्श सेवा समेत प्रदान गरिएको छ ।
आर्थिक विपन्नता, पढाई छोड्ने अवस्थाका कारण विद्यालय जान नसक्ने, बालविवाह हुने सम्भावना भएका अवस्थाका ८ बालक र ४६ बालिका गरी ५४ जना प्राथमिक तह देखि माध्यमिक तहसम्मका बालबालिकालाई शैक्षिक सहायता प्रदान भने विभिन्न कारणले बिरामी भएका तथा दुर्घटनामा परेका २ बालकको औषधी उपचारका लागि सहयोग प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी हाएको सूचना आएका जम्मा ११ बालबालिकामा हालसम्म ७ जना फेला परेका छन् । भने फेला परेका तथा बेवारिसे बालबालिकामध्ये १२ जना बालबालिकाको परिवार खोजी कार्य भइरहेको तथा १५ वटा घटना तथा समस्याका सम्बन्धमा वास्तविक घटना बुझ्न स्थलगत भ्रमण समेत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराई, नेपाल टेलिकमका इन्जिनियर, दिलिप कुमार झा, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौडा उपहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णुमाया लामिछाने, सामाजिक विकास मन्त्रालयका बालअधिकार श्रोत ब्यक्ति बद्रि वाग्ले, जनस्वास्थ्य कार्यालय, टेलिकम, बार एसोशियसन, प्यासन, शिक्षक महासंघ, बालल्कव प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो । बालहेल्पलाइन कार्यविधि २०६४ अनुसार मकवानपुर जिल्लामा सिविन नेपालले विगत १४ वर्ष देखि सेवा संचालन गर्दे आइरहेको छ ।







