सडक बनाउन निकासा भएको रकम वडाले फिर्ता लग्योः स्थानिय (फोटो फिचर)

छहारी संवाददाता
जेष्ठ २९, २०७६

महेन्द्र राजमार्ग अन्तरगत हेटौडाको कर्रा देखि पूर्वपट्टीका बस्ती जाने महत्वपूर्ण यो सडकखण्ड अहिले जिर्ण बनेको छ ।

यो बाटो भएर चल्ने सवारी साधन, स्कुल बस, पैदलयात्री, विद्यार्थी हरेकले अहिले सास्ती बेहोर्नु परिरहेको छ । कर्रादेखि लक्ष्मी स्कुलसम्मको यो सडक धेरै नै चल्तीको बाटो हो । तर बाटोको यो दुर्दसा पछि स्थानियहरु सकेसम्म लामै भएपनि बैकल्पिक बाटो खोज्न बाध्य छन् ।

लक्ष्मी टोल बिकास समितीका उपाध्यक्ष संजिब कार्की भन्नुहुन्छ– '४ नम्बर वडा अन्तरगत पर्ने यो सडकमै कुलो बगेको एक वर्ष भइसकेको छ, बच्चाहरुलाई यताबाट स्कुल लगे ड्रेस सम्म भिजाउदै तर्नु पर्छ, त्यसैलै लामै भए पनि अरु भित्री बाटो प्रयोग गर्न स्थानिय बाध्य हुनुहुन्छ ।' 

'२ वर्ष अघि सडक बनाउने भनि वडाले १५ लाख रुपैया निकासा गरेको थियो तर पछि फिर्ता लग्यो, अहिले बाटो आवातजावत गर्न अत्यन्तै समस्या भइरहेको छ,' स्थानिय गोविन्द थापा गुनासो गर्नुहुन्छ ।

अर्का स्थानिय नवराज गिरीले हेटौडा उपहानगरपालिका भित्रका प्राय सबै विद्यालयले प्रयोग गर्ने यो सडक महेन्द्र राजमार्गसंग जोडिएको कर्राको मुख्य सडक रहेको बताउनुभयो । उहाँले उक्त सडकमा कमलडाँडादेखिको पानी कुलोमा बगे जसरी बग्दा पनि वडाले वास्ता नगरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– 'सडकमा करीब डेढ फिट गहिरो भइ कुलो बगिरहेको छ । हामीले कर्रादेखि लक्ष्मि स्कुलसम्म १२ मिटर चौडा बाटो बनाउन माग गरेको हो तर वडा अध्यक्षले त्यस्तो नमिल्ने जवाफ दिनुभयो ।'

यसविषयमा ४ नम्बर वडा अध्यक्ष नविन सिक्देलसंग हामीले बुझ्दा उहाँले वडामा बजेट कम आउने गरेको र थोरै बजेटमा सिमित काम गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो – 'समस्याका बाबजुद पनि ४ नम्बर वडामा काम भने धेरै भइरहेको छ । यद्यपी कर्रादेखि लक्ष्मी स्कुलसम्मको सडक बनाउन १५ लाख छुट्याएको हो । तर स्थानियको विवादले रकम फिर्ता भयो ।'

स्थानियसंग छलफल गर्दा १५ मिटर बाटो कायम गर्न नमानेको अध्यक्ष सिक्देलको भनाइ छ ।

उक्त सडकखण्ड भत्किएको ५ वर्ष भइसकेको स्विकार्दै उहाँले आफु वडा अध्क्ष्य भएर आएपछि पहिलो वर्ष नै बाटो बनाउन १५ लाख छुट्याएको तर बाटोलाई जग्गा दिनु पर्ने भएपछि स्थानिय कै विवादका कारण रकम फिर्ता भएको बताउनुभयो ।

उक्त बाटो १५ मिटर मापदण्ड भित्र पर्ने भन्दै उहाँले स्थानियले १५ मिटर कायम गर्न नमानेको बताउनुभयो । स्थननियले नमानेर रकम फिर्ता भएपनि आफुले पुनः बाटो बनाउन प्रयास गर्ने अध्यक्ष सिक्देलले बताउनुभयो ।

आफु ४ नम्बर वडा भरीको अध्यक्ष भएकाले अन्य समस्याहरु आफ्नै पालामा समाधान गर्ने भन्दै उहाँले उक्त सडक पनि स्थानियसंग पुनः छलफल गरेर बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*