कम्युनिष्टहरु झुटको खेति गर्न माहिरः कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरु झुटको खेति गर्न माहिर रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा आज हेटौंडा १८ को गुम्बाडाँडामा भएको जनजागरण अभियानमा बोल्दै केसीले नेकपाले झुटको खेति गर्दै जनताको अमूल्य मत प्राप्त गरी सरकारमा गएपनि अझै झुटा आस्वासन दिनु नछाडेको बताउनुभयो ।
नेता केसीले एक भएर लागे नेपालमा अर्धमुर्छित अवस्थामा रहेको कम्युनिष्ट विश्वबाटै पलायन भए जस्तै चाँडै यमलोक पुग्ने टिप्पणी गर्नुभयो ।
कांग्रेस अब चुप लागेर नबस्ने बताउँदै केसीले कम्युनिष्ट सरकारले संघ, प्रदेश र स्थानीय निकायमा गरिरहेको चरम भ्रष्टाचार, शोषण, दमनको भण्डाफोर गर्दै गाउँगाउँमा जनजागरण अभियान लिएर हिडिरहेको बताउनुभयो ।
त्यस्तै विशिष्ठ अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जागरण अभियानको बारेमा प्रष्ट पार्दै अब कम्युनिष्ट सरकारले लाद्न खोजेको निरंकुशता विरुद्ध एक भएर लाग्दै जनताको घरदैलोमा आएको बताउँनुभयो ।
यो कम्युनिष्ट सरकारले काण्डैकाण्ड, भष्ट्राचार, बलात्कार, महंगी बढाएर आस्वासन मात्रै दिंदै हिंडेको भन्दै ५ वर्षपनि टिक्न मुस्किल रहेको बताउनुभयो ।
त्यस्तै अर्का विशिष्ठ अतिथि नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशिला उप्रेतीले कांग्रेस अब एकजुट भएर कम्युनिष्ट सरकारको बलमिच्याई बिरुद्ध लाग्नुपर्ने बताउँदै कांग्रेसको सिद्धान्त र बिचारलाई जनतामाझ लानुपर्ने बताउनुभयो ।
जनजागरण अभियानको लागि महिला संघको केन्द्रीय प्रतिनिधि रुपमा मकवानपुर आउनु भएकी कार्कीले विश्वले नपत्याएको कम्युनिष्ट नेपालबाट पनि चाँडै समाप्त हुने बताउनुभयो ।
पार्टीका जिल्ला सल्लाहकार रिता खनालले काँग्रेसले आन्तरिक कलह मिलाउँदै भष्ट्रचारी, निरंकुश कम्युनिष्ट सरकार विरुद्ध लाग्नुपर्ने बताउँनुभयो ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा हेटौंडा १८ का वडा सभापति राजेन्द्रराज बानियाँले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
जनजागरण अभियानमा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जिल्लाका पदाधिकारीहरु, पूर्व सभापतिहरु, जिल्ला सदस्यहरु, सल्लाहकारहरु, महासमिति तथा महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, हेटौंडा नगरका पदाधिकारी एवं सदस्यहरु, १ नम्बर क्षेत्रका गाउँपालिका पदाधिकारी एवं सदस्यहरु, भातृ एवं शुभेच्छुक संस्थाका जिल्ला तथा गाउँनगरका प्रमुख एवं पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।







