प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्दै

छहारी संवाददाता
जेष्ठ १४, २०७६

 प्रदेश तीन सरकारले विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

यसका लागि अध्ययन गर्न गठित समितिले सोमबार प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि अध्ययन गर्न गठित समितिले साढे ३ महिना लगाएर गरेको अध्ययनको प्रतिवेदन सोमबार मुख्यमन्त्री डोरमणि पौडेल समक्ष पेश भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत विज्ञ समूहले विभिन्न विश्वविद्यालयहरुको अध्ययन गरी प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि सिफारिस गरेको हो ।
प्रदेशमा स्थापना गरिने विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक विश्वविद्यालयको रुपमा विकास गरिने प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

  नेपालका विश्वविद्यालयहरुको अध्ययन गरेर विज्ञहरुसँगको छलफलबाट सिफारिस गरिएको उनले बताए । विश्वविद्यालयको ढाँचा, प्राज्ञिक स्वरुप, आर्थिक वित्तीय व्यवस्थापन, जनशक्तिको उत्पादन, शैक्षिक कार्यक्रमलगायतको विषयमा सिफारिस गरिएको हो ।

यता, विज्ञको रुपमा अध्ययन टोलीमा समावेश डा। युवराज संग्रौलाले प्रदेशले आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गर्दै जाने गरी प्रतिवेदनमा सिफारिस गरिएको बताए ।

प्रविधि र समाज विज्ञानलाई समेटेर स्थापना गर्ने विश्वविद्यालय प्राथमिकतामा पर्नु पर्ने उनले बताए । विशेष गरी अध्ययन र अनुसन्धानको पाटोमा केन्द्रित हुने गरी विश्वविद्यालय स्थापना हुनु पर्नेमा उनले जोड दिए ।

विश्वविद्यालयले आर्थिक र वित्तीय पाटो आफैंले सम्हाल्ने गरी सक्षम बनाइनु पर्ने सिफारिस गरिएको छ । यसका लागि विश्वविद्यालयमा कोष सञ्चालनका लागि कोष नियन्त्रक र कोष संरक्षकको परिकल्पना गरिएको छ जुन विश्वविद्यालय संरक्षक समितिको मातहत हुनेछ ।

प्रतिवदेन बुझेपछि मुख्यमन्त्री पौडेलले प्रदेश विश्वविद्यालय प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढ्ने बताए । अनुसन्धान केन्द्र र प्राज्ञिक क्षेत्रको विकास गर्न विश्वविद्यालय स्थापना हुने उनले बताए । विज्ञ समूहले तयार गरेको प्रतिवेदनलाई प्रदेश सरकारले आत्मसाथ गरेर अघि बढ्ने भन्दै उनले कानून बनाएर अघि बढ्ने बताए ।

सामाजिक विकास मन्त्री युवराज दुलाल संयोजक रहेको अध्ययन कार्यदलमा प्रा।डा। युवराज संग्रौला, प्रा।डा। रमेश प्रसाद भट्टराई, प्रा।डा। हरिकृष्ण श्रेष्ठ, प्रा।डा। अञ्जना सिंह र प्रा। जगत कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*