विश्व हिन्दू महासंघले जेठ ११ र १२ गते पोखरामा ७ औं राष्ट्रिय अधिवेशन गर्ने

विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा ७ औं राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै समितिले अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो । समितिका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले अधिवेशनमा देशका ६० भन्दा बढि जिल्लाबाट जनसहभागिता रहने बताउनुभयो ।
कार्यक्रममा बैंकेटेश्वर पिठाधिश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आईसकेको बताउनुभयो । उहाँले हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताउनु भएको छ ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सनातन हिन्दू धर्म संस्कृतिसँगै वैदिक ज्ञान–विज्ञानको उद्गमस्थल पुण्यभूमि नेपाललाई धर्मनिरपेक्षताको चंगुलबाट छुटाएर सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि यतिवेला नेपालमा रहेका सबै धार्मिक संघसंस्थासहित समस्त ॐकार परिवारको आपसी सद्भाव एकता र सहकार्यको आवश्यकत्ता छ ।’
समितिले आफूहरुको अथक प्रयासद्धारा राष्ट्रिय समिति, बाँसबारी र कलंकीबीच भएका चरणबद्ध एकता वार्ताको निश्कर्षबाट दुवै राष्ट्रिय समिति एकताबद्ध भएर अघि बढ्न सहमत भएको पनि अध्यक्ष अधिकारीले विश्वास दिलाउनु भएको छ ।







