विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारहरुको प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि मनाइएको छ ।
हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भए अनुसारनै नेपालमा पनि मे ३ का दिन प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार सन १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने गरिएको हो ।
यसै क्रममा नेपाल पत्रकार महासंघले विविध कार्यक्रमसहित देशभर मनाउने निर्णय गरे अनुसार प्रदेश तीनको राजधानी हेटौँडामा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शुक्रबार बिहान हेटौंडामा प्रभातफेरी गरियो । हेटौंडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, हेडम्बी चोक हुँदै पुनःसिमाचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
प्रभातफेरी कार्यक्रममा प्रदेश पत्रकार महासंघ प्रदेश तीनका सल्लाहाकार गिरीजा अधिकारी, प्रदेश तीन महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु नवराज तिमल्सिना, कौशल पाण्डे, राममणी दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी, सरिता दाहाल लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । प्रष्टखबरबाट







