मृतक सिर्जनाको परिवारलाई ११ लाख ५० हजार क्षतिपूर्ति, नदी दोहन गर्दा बनेका खाल्डा पुर्ने सहमती

गिटी बालुवा उत्खनन गर्दा बनेको दहमा डुबेर ज्यान गुमाएकी मनहरी ७ लामाबस्तीकी सिर्जना मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
उनको मृत्यु पछि आफन्तका परिवारले राजमार्ग बन्द गर्दै दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग गरेका थिए ।
इलाका प्रहरी कार्यालय मनहरीमा भएको छलफलमा मृतकको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने, बगरका सबै खाल्डाखुल्डी पुर्ने र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्रै उत्खनन् गर्ने सहमति भएको छ ।
सहमतिमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहित पीडित र ठेकेदार पक्षले हस्ताक्षर गरेका छन् ।
राक्सिराङ गाउँपालिकाले ठेक्का प्रक्रियाबाट मनहरी खोलाको नदीजन्य बस्तु उत्खनन् गर्दा बनेको दहमा डुबेर हिजो दिउँसो १३ बर्षीया सिर्जनाको ज्यान गएको थियो । उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।
पौडी खेल्न गएका चारजना साथीहरु मध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए । अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको भेटिएको हो ।







