देशभक्त जन गणतन्त्रात्मक मोर्चा नेपालले प्रदेश तीन सरकार समक्ष ज्ञापनपत्र बुझायो

छहारी संवाददाता
बैशाख १६, २०७६

नेपालको गलत नक्सालाई प्रतिबन्ध लगाउन देशभक्त जनगणतन्त्रात्मक मोर्चा नेपालले प्रदेश नम्बर तीनको सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाका प्रदेश नम्बर तीनका अध्यक्ष पवनमान श्रेष्ठले आइतबार कार्यबाहक मुख्यमन्त्री तथा कानुनमन्त्री शालिकराम जमकट्टेल समक्ष ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा हाल प्रचलनमा रहेको नेपालको नक्सा भारतद्धारा प्रकाशित गरिएको र गलत भएको जनाउदै उक्त नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पीयाधुरा नेपालको भुमिबाट हटाइएको भन्दै तत्काल २ सय ७२ बर्ग किलोमिटरको सो क्षेत्रसहितको नक्सा देशभरि प्रयोगमा ल्याउन माग गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा भारतद्धारा ७१ स्थानमा मिचिएका नेपाली भुमि फिर्ता गराउनुपर्ने , नागरिकता ऐन २०६३ लाई संसोधन गर्न ल्याइएको नागरिकता बिधेयक खारेज गर्नुपर्ने , भारतीय नागरिकलाई नेपालमा काम गर्न वर्क परमिटको व्यवस्था गर्नुपर्ने, सबै प्रदेशको राजधानी तथा नाम समुदायको पहिचानका आधारमा राखिनुपर्ने, नेकपा बिप्लब समुहमाथि सरकारद्धारा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने लगायतका २५ बुँदे मागहरु उल्लेख गरिएका छन् ।

मोर्चाले आइतबार ज्ञापनपत्रसँगै नेपालको पुर्णभुमिसहितको नक्सा समेत कार्यबाहक मुख्यमन्त्री जमकट्टेललाई बुझाएको छ । ज्ञापनपत्र तथा नक्सा बुझ्दै बुझदै कार्यबाहक मुख्यमन्त्री जमकट्टेलले प्रदेश राजधानी तथा नामाकरण सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको र राष्ट्रियताका बिषयमा उठाएका मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*