खुल्ला दुध विक्रि गर्न पाउनु पर्ने माग

दुग्ध उत्पादक किसान व्यवसायी संघ मकवानपुरले खुल्ला रुपमा दुध विक्रिवितरण गर्न पाउनु पर्ने माग राखेको छ ।
आज हेटौडामा पत्रकार सम्मेलन गर्दै संघले खुल्ला रुपमा व्यापारिक पसल तथा सहकारीहरुले दुध विक्रिवितरण गर्न नपाउने, लेबल, उत्पादन मिति, समाप्ती मिति राखेर तथा प्रशोधन गरेर मात्र दुध विक्रि गर्नुपर्ने भनी राज्यले जारी गरेको निर्देशिका नमान्ने बताएको छ ।
संघका जिल्ला अध्यक्ष अमृत ढकालले सररकारले यो विषयमा आफुहरुसंग सहजीकरण गरी दुध विक्रिवितरण गर्न दिनु पर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो– "राज्यले कि त किसान व्यवसायीसंग सहजीकरण गर्नु पर्यो, कि त अनुगमन गरेर हाम्रो दुधलाई अखाद्य भनेर पुष्टि गर्नुपर्यो । नत्र हामीलाई खुला रुपमा दुध विक्रिवितरण गर्न रोक लगाउन पाईदैन ।"
यस तर्फ सरकारले ध्यान नदिए दुध डेरी संचालकको करोडौको लगानी डुब्ने व्यवसायीहरुको भनाई छ । मकवानपुर जिल्लामा ४५ ओटा दुध डेरी रहेका छन् । जहाँबाट खुल्ला रुपमा दुध विक्रिवितरण भइरहेको छ ।
निर्देशिकामा के छ ?
सरकारले जारी गरेको दुध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धि निर्देशिका–२०७५ चैत्र ४ गतेबाट लागू भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले असोज ४ गते मन्त्रिस्तरिय निर्णयले स्विकृत गरेको निर्देशिका चैत्र ४ गतेबाट लागू भएको हो ।
निर्देशिका स्विकृत भएको मितिले ६ महिनापछि लागू हुने उल्लेख छ। खाद्य ऐन २०२३ को नियम ३३ ‘क’ अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सुधार निर्देशिका २०७५’ लागू गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका लागू भइसकेकोले अब दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, संकलन केन्द्र, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भन्डारण, ढुवानी तथा बिक्री व्यवसायहरू समेतको नियमन निर्देशिका अनुसार हुने जनाएको छ ।
पास्चराईजिङ, प्याकेजिङ गरी उत्पादन मिति, ब्याच नम्बर, प्रयोग गर्ने मिति र मुल्य उल्लेख भएको हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।







