शालिकराम जमकट्टेल सचिवमा घटुवा

छहारी संवाददाता
बैशाख १०, २०७६

प्रदेश तीनका आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल धादिङको जिल्ला सचिवमा घटुवा हुनु भएको छ ।

नेकपाले आज सार्वबजनिक गरेको पार्टीका जिल्ला अध्यक्ष र सचिवको लिष्टमा उहाँ सचिवमा घटुवा हुनु भएको हो । यसअघि उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँसंगै सार्वजनिक भएको जिल्ला अध्यक्ष र सचिवहरुको लिष्टमा आठ केन्द्रीय सदस्य जिल्ला सचिव बनाइएका छन् ।

उनीहरुले अब पार्टी बरियतामा आफूभन्दा जुनियरको मातहत रहेर काम गर्नुपर्नेछ । बरियतामा केन्द्रीय सदस्य भन्दा तल जिल्ला अध्यक्ष रहन्छन् ।

सार्वजनिक गरिएको सुची अनुसार केन्द्रीय सदस्यको मातहतमा सचिव हुने मोरङका गोपी अछामी मात्र छन् । मोरङमा तत्कालिन एमालेका अध्यक्ष समेत रहेका र हाल केन्द्रीय सदस्य बढुवा भएका बिनोद ढकाल अध्यक्ष बनेका छन् ।

केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट, दावा तामाङ  सिन्धुपाल्चोक, श्रवण यादव धनुषा, हिमाल शर्मा काठमाडौं, शालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने रुपन्देही छन् ।

नेकपाका कार्यकर्ताले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश मन्त्री तहका नेताहरुलाई जिल्ला कमिटी सचिव बनाइएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसैबीच केन्द्रीय सचिवालयका केही नेताले जिल्ला सचिवको साटो सहअध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय कमिटी सदस्य भए पनि पूर्व एमालेबाट जिल्ला अध्यक्ष बन्नेमा विनोद ढकाल र कृष्ण राईमात्र केन्द्रीय सदस्य हुन् । उनीहरु तत्कालिन जिल्ला अध्यक्ष भएकाले निरन्तता पाएका हुन् । साभार / जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*