सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको नेकपा महासचिव पौडेलको दाबी, आरोप पुष्टि गर्न चेतावनी

छहारी संवाददाता
बैशाख ७, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफूमाथि लागेको आरोप पुष्टि गर्न सबैलाई आह्वान गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको ललिता निवासको जग्गाको विषयमा आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै त्यसको पुष्टि गर्न विज्ञप्तिमार्फत उहाँले आह्वान गर्नुभएको हो । 

सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उहाँले ललितानिवास परिसरको कित्ता नं. ३०९ को आठ आना जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा कानुनबमोजिम नै खरिद गरिएको बताउनुभयो ।  

मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरेपश्चात उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको जग्गा आफूहरुले लिखत पारित गरी लाग्ने राजश्व बुझाएरै खरिद गरेको उहाँले बताउनुभयो । 

सरकारी जग्गा हडप्ने मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै पनि कार्यमा आफू र आफ्नो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै पनि नरहने पनि उहाँले अवगत गराउनुभएको छ । सरकारी जग्गा हडप्नेजस्ता अपराधजन्य गतिविधि आफूले सोच्नसमेत नसक्ने उहाँले प्रष्ट पार्नुभयो । 

२०६१ पुस २९ गते जग्गा खरिद गरेको र त्यो बेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । 

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १० साविक तिलकपुर गाउँ विकास समिति, वडा नम्बर–३) स्थित श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट ललिता निवासको ८ आना जग्गा खरिद गरिएको पनि उहाँले खुलाउनुभयो । 

संविधानसभा सदस्यमा २०६४ सालमा रुपन्देही जिल्लाबाट निर्वाचित भएपश्चात् ललिता निवासको जग्गाबारे वार्षिक सम्पत्ति विवरणमा उल्लेख गर्दै आएको पनि उहाँले बताउनुभयो । 

बालुवाटारको जग्गा हिनामिनाका सम्बन्धमा सरकारले आवश्यक कमद चालिसकेको भन्दै उहाँले सरकारले चालेको कदमलाई पनि स्वागत र समर्थन गर्नुभएको छ । 

गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ गर्न सरकारले चालेको कदमलाई सँधै सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 
ललिता निवासले चर्चेको जग्गा हिनामिनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा सरकारी सम्पत्ति रहेको ललितानिवासले चर्चेको जग्गा व्यापारी र भूमाफियाले प्रतिआना ७ लाखमा किनबेच गरेको तथ्य खुलेको थियो । जग्गा किनबेचमा सत्तारुढ दलकै महासचिव पौडेलको समेत जग्गा रहेको देखिएपछि व्यापक विरोध भइरहेको छ । साभार उज्यालो अनलाइबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*