पर्याप्त बजेट नहुँदा हेटौडा अस्पतालमा सञ्चालित सामाजिक सेवा एकाइबाट सेवा दिन समस्या

छहारी संवाददाता
बैशाख ६, २०७६

पर्याप्त बजेट नहुँदा हेटौडा अस्पतालमा सञ्चालित सामाजिक सेवा एकाइबाट सेवा दिन समस्या हुने भएको छ ।

सामाजिक सेवा एकाइको आज सम्पन्न दोश्रो चौमासिक बैठकमा मंसिर देखि फागुनसम्मको लाभग्राहीलाई सेवा दिँदा भएको खर्च विवरण र प्राप्त बजेट हेर्दा यस्तो देखिएको हो ।

सामाजिक सेवा एकाइलाई प्राप्त वार्षिक बजेट २५ लाख मध्ये पहिलो चौमासिकमा ७ लाख ५२ हजार ३ सय ७९ रुपैया र दोश्रो चौमासिकमा ९ लाख ७१ हजार ८ सय ६८ रुपैया खर्च भएको छ ।

अब बाँकी रकम ७ लाख ७५ हजार ७ सय ५३ रुपैयाले सेवा दिन समस्या हुने सामाजिक सेवा एकाइकी उप प्रमुख अप्सरा पोखरेलले बताउनुभयो ।

बैठकमा हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले विपन्न सेवाग्राहीको संख्यामा बृद्धि हुँदै जाँदा आगामी दिनमा झनै सेवा दिन समस्या हुने भएकाले तत्काल बजेट माग गर्ने विषयमा सामाजिक विकास मन्त्रालयसंग कुरा राख्ने बताउनुभयो ।

बैठकमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रविन श्रेष्ठले मकवानपुरका मात्र नभइ अन्य जिल्लाहरुबाट समेत गाउपालिकाको सिफरिस लिएर आउने विपन्न विरामीको संख्या बढ्न थालेकाले यस विषयमा समयमै सोच्नु पर्ने बताउनु भयो । चौमासिक बैठकमा एकाइकी सहजकर्ता सृष्टी अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

सामाजिक सेवा एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पिडित(बालबालिका), महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका अभिभावक विहिन (आकस्मिक) बिरामी, सिमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातीले सेवा पाउँदै आएका छन् ।

लक्षित बर्गमा परेका बिरामीले सेवा पाउनका लागि गाउँपालिका वा नगरपालिकाबाट सिफारिस लिएर आउनुपर्नेछ । उनिहरुले एकाइबाट निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*