देशभरी जस्तै नेपाल पत्रकार महासंघ मकवानपुरले पनि दियो जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग राख्दै देशभरी जस्तै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि आज जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना दिएको छ ।
पत्रकारलाई पक्राउ गर्ने क्रम बढेकोले उक्त दफा खारेजीको माग गर्दै देशैभरका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।
केन्द्रको सर्कुलर अनुसार देशैभरका जिल्ला प्रशासन कार्यालयमा बिहान साढे ९ बजे देखि साढे १० बजेसम्म १ घण्टा धर्ना दिइएको हो ।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष्ँ हरि हुमागाईले पक्राउ परेका पत्रकार अर्जुन गिरीसहित अन्य पत्रकारको रिहाईको माग गर्नुभयो । उहाँले वास्तविकता पत्ता नलगाएर समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकट गर्ने, पक्राउ गर्ने, मुद्धा चलाउने जस्ता कार्य तत्काल बन्द नभए थप आन्लोनल गर्न पत्रकार तयार रहेको बताउनुभयो ।
धर्नामा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, पूर्व अध्यक्ष राममणि दाहाल, नवराज शर्मा लगायत ४६ जना पत्रकारहरु उपस्थित थिए ।







