बन्द अपडेटः कमाने वडा कार्यालयमा राखिएको कुकर बम जस्तै बस्तु डिस्पोज, तिनताप्केमा बम राखेको आशंका, डिस्पोजल टोली पुग्दै

हेटौडा ८ कमानेको वडा कार्यालयमा राखेको प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।
नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले वडा कार्यालयको गेटमा प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ ।
यद्यपी उक्त प्रेसर कुकर भित्र बम नभएको र अन्य बस्तु राखेर मानिसलाई त्रसित पार्ने काम गरिएको प्रहरी प्रवक्ता सागर बिक्रम राणाले जानकारी दिनुभयो । बिहान साढे ५ बजे स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस्तै बस्तीपुर तिनताप्केमा पनि प्रेसर कुकुर बम राखेको भन्ने सूचना पाए पनि टोली त्यस तर्फ लागेको उहाँले जानकारी दिनुभयो । विप्लबका कार्यकर्ताले आज बिहानै बन्द अबज्ञा गरेको भन्दै २ ओटा गाडीमा आगजनी समेत गरेका छन् ।
नेपाल बन्दका कारण मकवानपुर लगायत देशभरका सम्पूर्ण लामो दुरीका यातायात सेवा ठप्प भएका छन् भने हेटौँडाको मुख्य बजार पनि सुनसान छ । छोटो दुरीका सवारी साधन भने फाटपुट्ट चलेका छन् । जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् ।
सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, आफना कार्यकर्ता केन्द्रीत अप्रेशन चलाएको र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।







