श्रम तथा रोजगार कार्यालय हेटौडा र उद्योग व्यवसायी संघ मिलेका छन्ः ट्रेड युनियन

छहारी संवाददाता
बैशाख ५, २०७६

श्रम तथा रोजगार कार्यालय हेटौडाले यसवर्ष देखि श्रमिक आपुर्तिकर्ता इजाजत पत्र दिने र श्रम अडिट कार्य सुरु गरेको छ ।

मकवानपुर जिल्लामा ७२ ओटा उद्योग रहेको र प्राय उद्योगहरुमा तेस्रो पक्ष मार्फत श्रम गर्ने गरिएको पाइएपनि यस आर्थिक वर्षको चौमासिक सम्ममा श्रमिक इजाजत लिनेको संख्या ५ पुगेको छ । यस्तै १३ ओटा उद्योगमा श्रम अडिट गरिएको छ ।

श्रम कार्यलयले औद्योगिक प्रतिष्ठानहरुसंग सम्बन्धीत कार्यहरु र मजदुरका समस्यामा नै प्रमुख रुपमा काम गर्दै आइरहेको श्रम तथा रोजगार कार्यालयका ना सु श्याम कुमार श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले उद्योग प्रतिष्ठानहरु मार्फत मजदुरहरुको पारिश्रमिक सम्बन्धी, सामुहिक सौदाबाजी, सेवा सुविधा, नियुक्ति पत्र नपाउने जस्ता विषयमा उजुरी पर्ने गरेको जानकारी दिनुभयो ।

चालुु आर्थिक वर्ष २०७५र७६ देखि ६ ओटा जिल्ला मकवानपुर चितवन, धादिङ, रामेछाप, सिन्धुली र दोलखा कार्य क्षेत्र पर्ने श्रम कार्यालयमा यस वर्ष फागुन मसान्तसम्ममा ५२ ओटा ट्रेड युनियनहरु दर्ता भएका छन् । ती मध्ये ४ ओटा ट्रेड युनियन मात्रै आधिकारिक रहेको उहाँले बताउनुभयो । गत वर्ष ५४ ओटा ट्रेड युनियन कार्यालयमा दर्ता भएकोम थिए ।

ना सु श्रेष्ठले मजदुरका समस्यामा नै प्रमुख रुपमा काम गर्दै आइरहेको बताएपनि आधिकारीक ट्रेड युनियन अखिल नेपाल औद्योगिक मजदुर संघका गोर्खा लाहारी प्राली इकाइ अध्यक्ष धर्म दत्त कुइकेल उद्योगले सहमती कार्यान्यन नगर्ने गरेको र सो सम्बन्धमा श्रम कार्यालयममा उजुरी गर्दा श्रम कार्यालयले पनि ढिलासुस्ती,आलटाल गरी उल्टै मजदुर वर्गलाई आघात पुर्याउने काम गरेको गुनासो गर्नुहुन्छ ।

कानुनी दायरा भित्रको श्रम सम्बन्धी त्रिपक्षिय बैठकका क्रममा मजदुर वर्गको वार्ता टोलीलाई मुद्धा हालेर फसाइएको समेत कुइकेलको आरोप छ ।

यस्तै अखिल नेपाल ट्रड युनियन महासंघका जिल्ला उपाध्यक्ष रामशरण घिमिरेले श्रम कार्यलय र उद्योग व्यवसायी संघ मिलेर मजदुरलाई चपेटामा पार्ने गरेको आरोप लगाउनुभयो । उहाँले नेपाल सरकारले तोकेको पारिश्रमिक पनि पूर्ण रुपमा कार्यान्वय नभइसकेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*