नव वर्ष उल्लासका साथ मनाइँदै, हेटौडाको स्मारक क्षेत्रमा सवारी चापका कारण पर्यटकलाई सास्ती

आज वैशाख १ गते, नव वर्ष अर्थात विक्रम सम्वत् २०७६ सुरु भएको छ । आजको दिन देखि नयाँ कुराको थालनी गर्दा राम्रो हुने विश्वास गरिन्छ ।
आज खुशि रहे वर्ष भरी खुशि प्राप्त हुने पनि जनविश्वास छ । त्यहि खुशि साट्न र नव वर्षलाई उल्लासका साथ स्वागत गर्न सबैजना आ–आफ्ना साथीभाइ आफन्तहरुसंग विभिन्न पर्यटकीय स्थलहरुमा गएर रमाइलो गरिरहेका छन् ।
आज देशका प्राय जसो पर्यटकीय स्थलमा मानिसहरुको भिडभाड देख्न सकिन्छ । आज देशभरी जस्तै मकवानपुरमा पनि पर्यटकीय क्षेत्रमा मानिसको निकै भिड छ ।
यतिबेला हेटौडाको पर्यटकीय स्थल सहिद स्मारकमा मानिसको अति नै भिड बढेको छ । स्मारकमा लाखौंको संख्यमा पर्यटकहरु रमाइलो गर्न आएका छन् । तर स्मारक क्षेत्रमा भने मानिसको भिड र सवारी चापका कारण व्यवस्थापन गर्न ट्राफिकलाई समेत समस्या परेको छ ।
स्मारक जाने तथा फर्कने क्रममा सवारी जामका कारण सास्ती हुने गरेको पर्यटकहरु बताउँछन् ।
आज अन्य दिन भन्दा पर्यटकहरु बढी नै संख्यामा आउने भएकाले पनि सवारी व्यवस्थापन गर्न ट्राफिकलाई समस्या परेको हुन सक्छ । तर यस्ता विशेष समयका लागि भने सहिद स्मारक व्यवस्थापन समितिले विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ ।







