आज वैशाख १ गते, नव वर्ष विक्रम सम्वत् २०७६ सुरु
आज वैशाख १ गते, नव वर्ष विक्रम सम्वत् २०७६ सुरु भएको छ । नव वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, लगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशवासीलाई शुभकामना दिनुहुँदै उहाँले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताउनुभयो ।
विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताउनुभयो ।
२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सरकारका उपलब्धिको चर्चा पनि गर्नुभयो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नव वर्षको अवसरमा आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको बताउनुभएको छ ।







