कम्युनिष्ट सरकारले जनताको विवेकमाथी खेलवाड गरिरहेको छः मिनेन्द्र रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता मिनेन्द्र रिजालले सरकारले जनताको विवेकमाथी खेलवाड गरिरहेको आरोप लगाउनु भएको छ ।
आज हेटौडामा भएको कांग्रेस उपमहानगर समितिको नगर सम्मेलनमा नेता रिजालले कम्युनिष्ट सरकारले जनताको घोर बेइज्जत गरिरहेको भन्दै उसको रबैया यस्तै रहे धेरै दिन नटिक्ने ठोकुवा गर्नुभयो।
कम्युनिष्टहरु पतनको बाटोमा हिडेको भन्दै प्रवत्ता रिजालले भन्नुभयो–"कम्युनिष्ट पार्टीको हुकुमी शासन रोक्न नेपाली कांग्रेसले उर्जा बोकेर लागिपर्नेछ ।"
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको उखान टुक्कालाई लक्षित गर्दै नेता रिजालले अब सरकारको उखान टुक्काले विकास नहुने भन्दै विकासको लागि र जनताको मन जित्नका लागि काम गरेर देखाउनु पर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा कांग्रेस प्रदेश तीनका संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले भागबण्डाको राजनितिले पार्टी कमजोर बनाउने भएकाले बन्द गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई कमजोर बनाउने काम मकवानपुर जिल्लामा नहोस् भन्दै देउवा, सिटौला, पौडेलका गुट उपगुटमा लाग्दा पार्टी कमजोर हुने तर्फ सचेत गराउनुभयो ।
यस्तै कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले स्थानिय तहका प्रत्येक ठाउँमा भ्रस्टाचार तिब्र रुपमा बढेको भन्दै सरकारलाई सचेत गराउनुभयो । उहाँले मकवानपुरका महिलाहरु अग्रगामी रुपमा अघि बढिरहेको पनि बताउनुभएको छ ।
उपमहानगरका सभापती आनन्दराम पराजुली सभापतित्वमा भएको कार्यक्रममा विष्णु लामिछने, रामचन्द्र अर्याल माइकल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।







