तीनै तहको सरकारमा भ्रष्टाचार व्याप्त छः इन्द्रबहादुर बानियाँ
प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले तीनै तहको सरकारमा भ्रष्टाचार व्याप्त रहेको टिप्पणी गर्नुभएको छ ।
निर्माण व्यवसायी संघ मकवापनुरले आज हेटौंडामा आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले तीन तहको सरकारका नाममा अहिले ब्रह्मलुट मच्चिएको आरोप लगाउनुभयो ।
उहाँले उपभोक्ता समितिका नाममा राजनीतिक भ्रष्टाचार मौलाएको पनि बताउनुभयो । राजनीतिक आडमा उपभोक्ता समितिलाई ६० लाख रुपैयाँ सम्मको काम दिंदा बढी भ्रष्टाचार बढेको बताउनुभयो ।
निर्माण व्यवसायीले वर्षेनी सरकारलाई कर तिरेपनि पलायन हुनुपर्ने अवस्थामा आएको उहाँको भनाई छ । सरकार तर्फ लक्षित गर्दै उहाँले २०७५ साल कुराको वर्ष भएपनि यो नयाँ वर्ष २०७६ साल भने काम गरेर देखाउने वर्ष होस् भन्दै शुभकामना दिनु भएको छ ।
कार्यक्रममा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले सार्वजनिक खरिद ऐन सहज नबनाए सम्म सबैलाई समस्या हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागााई, मकवानपुर उद्योग वणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।







