स्थानिय तहमा दिर्घकालिन योजनाले स्थान पाएन, टुक्रे योजनाका कारण विकासमा योगदान शुन्यः जिसस मकवानपुर

मकवानपुर जिल्लाका अधिकांश स्थानिय तहको समग्र विकासमा कम बजेटका धेरै सँख्यामा आयोजनाहरुका भौतिक पुर्वाधारले मात्र स्थान पाएको छ ।
स्थानिय तहहरूमा रणनितिक तथा दिर्घकालिन योजनाहरूले स्थान नपाएको र ५० हजार देखि २ लाखका स-साना टुक्रे योजनाहरूले गर्दा विकास निर्माणका कुनै पनि कार्यमा योगदान नरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल बताउनुहुन्छ ।
जिल्ला समन्वय समिति मकवानपुरकाले चैत्र १७ गतेदेखि २९ गतेसम्म मकवानपुरका १० वटै स्थानिय तहमा गरेको अनुगमनबाट स्थानिय तहबाट सन्चालित योजनाहरूको अन्तिम चौमासिक सम्ममा पनि करिब ४० प्रतिशत काम भएको देखिएको छ ।
कर्मचारि अभाव, सिमा विवाद, खानि उत्खनन्, सामानहरूको दररेट, चुरे कटान, निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका कारण स्थानिय तहमा जुनसुकै कार्य तथा योजनाहरू सम्पन्न हुन कठिनाइ भएको भन्दै प्रमुख खुलाललले स्थानिय तहले अल्पकालिन र दिर्धकालिन रूपमा योजनाहरू तय गर्नुपर्ने, सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्लाको मकवानपुरगढी गाँउपालिकामा यस बर्ष ६ सय ५८ वटा, हेटौंडा उपमहानगरपालिकामा ६ सय भन्दा बढी, मनहरी गाँउपालिकाले ४ सय ६३ वटा, बकैया गाँउपालिकाले ४ सय वटा, बाग्मतीमा ३ सय १७ वटा, राक्सिराङ गाँउपालिकामा ४ सय १, इन्द्रसरोवर गाँउपालिकामा २ सय ९४, कैलाश गाँउपालिकामा ६ सय २२, भिमफेदीमा ४ सय ८५ वटा योजनाहरु सञ्चालनमा रहेका छन् ।
थाहा नगरपालिकाले भने ५ लाख भन्दा बढीका १ सय १ वटा आयोजनाहरु मात्र स्विकृत गरेको छ । मकवानपुर जिल्लाका अधिकांश बजेटका भौतिक निर्माणका आयोजनाहरु सञ्चालन भयको तर मानविय विकासमा भने शून्य रहेको जिल्ला समन्वय समितिका उप प्रमुख भगवती पुडासैनिले बताउनुभयो ।







