बारा र पर्सामा हावाहुरीबाट विस्थापित भएकाको घर निर्माणको जिम्मा नेपाली सेनालाई
सरकारले यही चैत १७ गते बारा र पर्साका विभिन्न स्थानमा हावाहुरीबाट विस्थापित भएकाहरुको पुनःस्थापना तथा घर पुनःनिर्माण कार्य गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको छ ।
सरकारले प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा शहरी विकास कार्यालय अन्तर्गत जनता आवास कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि, बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसहितको पाँच सदस्यीय पुनःस्थापना तथा घर पुनःनिर्माण सहजीकरण र समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनु भएको हो ।
मन्त्रिपरिषद् बैठकले जनता आवास कार्यक्रममा पूर्वनिर्धारित प्रति एकाइ आवास लागत बजेट सीमाभित्र रहेर वर्षायाम सुरु हुनु अगावै विपद् प्रभावितको क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने व्यवस्था मिलाउने र घर निर्माण सम्पन्न गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो ।







