प्रदेश तीनका ३३ प्रतिशत वडामा अझै छैन स्वास्थ्य चौकी, " स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य " कसरी !
प्रदेश तीनका कतिपय वडामा स्वास्थ्य चौकी निर्माण नहुँदा नागरिकमा स्वास्थ्यको पहुँच पुग्न सकेको छैन ।
प्रदेश तीनका ३३ प्रतिशत वडामा स्वास्थ्य चौकि अझै निर्माण हुन नसकेको तथ्याङकले देखाएको छ । यस्तै स्वास्थ्य संस्थामा अझैपनि स्वास्थ्यकर्मीको अभाव छ ।
स्वास्थ्यकर्मीको अभावका कारण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन सकिएको छैन । जसको कारण "स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य" भन्ने नारा नारा मै सिमित हुने देखिएको छ ।
प्रदेश तीन स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्बन्धि आज भएको पत्रकार अन्तरकृया कार्यक्रममा यी र यस्तै अन्य विषयमा छलफल चल्यो ।
कार्यक्रममा सहभागीहरुले प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि सम्बन्धित पक्षले स्थानिय स्तर मै पुगेर सचेताना जगाउने, सेवा प्रभाव गर्ने लगायतका कार्य गरी अघि बढ्नु जरुरी रहेकोमा जोड दिए ।
जनप्रतिनिधिहरुले स्वास्थ्यको विषयलाई प्रमुख एजेण्डा बनाउनु पर्ने प्रदेश तीन स्वास्थ्य निर्देशनालय हेटौंडाका जनस्वास्थ्य प्रशासक राजेन्द्र कुमार गिरीले बताउनुभयो ।
उहाँले स्वास्थ्य जस्तो संवेदनसिल विषय एकातिर थाती राखेर सडक निर्माण लगायतका कुरामा जनप्रतिनिधिहरु लाग्न नहुने तर्क गर्नु भयो ।
कार्यक्रममा पत्रकार मशहासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्टले श्राद्ध गरे जस्तो गरी दिवस केन्द्रित हुनु भन्दा स्वास्थ्य सचेतना कार्यक्रम लिएर स्थानिय स्तरमा जान आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा पत्रकारहरुको सरकारको स्वास्थ्य विमा कार्यक्रममा देखिएको अन्यौल अन्त्य हुने खालको कार्यक्रम गर्नु पर्ने, अस्पतालमा विचौलियाहरुको गतिविधी अन्त्य हुनु पर्ने, डाक्टरले विरामीका लागि लेखिदिने सिमित कम्पनिका औषधीको बारेमा ध्यान दिनु पर्ने लगायतका विषयको जिज्ञासामा छलफल चलेको थियो ।
कार्यक्रममा प्रदेश तीन स्वास्थ्य निर्देशनालय हेटौंडाका उपस्वास्थ्य प्रशासक डाक्टर रामबहादुर केसी, जनस्वास्थ्य प्रतिनिधी डाक्टर राजेन्द्र कुमार गिरी, हेटौंडा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश पौडेल, हेटौंडा अस्पतालका निमीत्त प्रमुख डाक्टर हरिबहादुर खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको उपस्थिती रहेको थियो ।







