मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

प्रदेश तीनका मकवानपुरसहित धादिङ, भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीका जिल्ला अस्पतालबाट सेवा लिन सकिने
छहारी संवाददाता
चैत्र १७, २०७५

प्रदेश तीनमा आजदेखि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको छ ।

हेटौंडा अस्पतालबाट सुरु भएको यो कार्यक्रम हेटौंडा १ लालझाडीका रामप्रसाद तिमल्सीनाको स्वास्थ्य परिक्षण गरी सुभारम्भ गरिएको हो । अस्पतालमा पहिले ओपिडी सेवा रहेको भवनबाट यो कार्यक्रमको सुरुवात गरिएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिने कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरेको हो । नसर्ने रोगबाट प्रभावितहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरि प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुग्ने उदेश्यले कार्यक्रम सुरु गरिएको सामाजिक विकास मन्त्री यूवराज दुलालले बताउनुभयो ।

प्रदेश तीनका मकवानपुरसहित पाँच जिल्लाका जिल्ला अस्पतालबाट यो सेवा दिइनेछ ।

मकवानपुरको हेटौंडा अस्पताल, धादिङको धादिङ अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र सिन्धुलीको सिन्धुली अस्पतालमा यो स्वास्थ्य परीक्षण सेवा दिइने सामाजिक विकास मन्त्री दुलालले जानकारी दिनुभयो ।

हेटौडामा आजबाट सुरु भएपनि अन्य जिल्लामा १० दिनभित्र यो कार्यक्रम सुरुवात गरिने पनि उहाँले जानकारी दिनुभयो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १९ ओटै वडाबाट अध्यक्षको सिफारिस भएर आएका लक्षित विपन्नहरुले यो सेवा सजिलैसंग प्राप्त गर्नेछन् । अस्पताललाई प्रतिव्यक्ति २२ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । आफ्नो स्वास्थ्य अवस्था पहिचान पछि आवश्यक उपचार व्यक्ति स्वयमले नै गर्नु पर्नेछ ।

चालु आर्थिक वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरी नमुनाका रुपमा यो कार्यक्रमको सुरुवात गरिएको हो । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० वर्ष पूरा गरी ७० वर्ष ननाघेका नागरिक समावेश हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*