सहिद बासुदेव मार्गको सडक खण्डमा स्ल्याब ढलानको शिलान्यास
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ मा पर्ने सहिद बासुदेवमार्गको सडक खण्डमा आज आइतबार स्ल्याब ढलानको शिलान्यास भएको छ ।
मकवानपुरगढी गाउँपालिकाको वडा नं. ५ र ६ प्रवेश गर्ने प्रमुख सडकमार्ग नै सहिद बासुदेवमार्ग हो । मकवानपुरगढी गाउँपालिकाको पहलमा प्रदेश सरकारले विनियोजित गरेको ५० लाख बजेटबाट स्ल्याब ढलान आजदेखि सुरु भएको छ ।
उक्त सडकमार्गलाई यसअघि पनि राष्ट्रिय योजना आयोगले ५ करोड बजेट छुट्याएर सडकको स्तरीकरण गरिएको थियो । जनआन्दोलनमा ज्यान गुमाएका मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा उक्त सडकमार्गको नामाकरण भएको हो ।
सहिद घिमिरेको स्थायी घर मकवानपुरगढीको वडा नं. ५ स्थित काञ्चनथलीमा छ । जहाँ उनको सम्झनामा गाउँपालिकाले स्मारक निर्माण गरिरहेको छ । उनले रोजगारीको शिलशिलामा काठमाडौंमा रहँदा जनआन्दोलनमा ज्यान गुमाएका थिए ।
प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ कुमारी मोक्तान र मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले स्ल्याव ढलानको शिलान्यास गरेका थिए । नेतृ मोक्तानले शिलान्यास गर्दा हर्ष भएजति नै समयमै स्ल्यावको उद्घाटन हुँदा आफू हर्षित हुने बताइन् ।
उनले निर्माण कार्यलाई समयमै सक्न आग्रह गरिन् । गाउँपालिका अध्यक्ष हुमागाईले विकास निर्माणमा गाउँपालिकाले योजना बनाएर अघि बढेको बताए । उक्त स्ल्याब ढलान सहिद बासुदेवमार्ग स्ल्याब ढलान निर्माण समितिले जिम्मेवारी लिएर काम सुरु गरेको छ ।
स्ल्याब ढलान ४ सय ६४ मिटरको हुने समिति अध्यक्ष यज्ञप्रसाद तिमल्सिनाले जानकारी दिए । कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं. १ का अध्यक्ष श्यामकुमार बल, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नं. ६ का अध्यक्ष टीकाप्रसाद दहाल, नेकपामा नेता युवराज सापकोटालगायतको आतिथ्यता थियो ।







