हेटौडाको पल्पसामा आजदेखि २० दिन जुत्ता चप्पल व्यापार मेला

प्रदेश तीनको राजधानी हेटौंडामा जुत्ता चप्पल व्यापार मेला हुने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ तथा फुडवेयर यसोशियसनले यहि फागुन २९ गतेबाट २० दिनसम्म संयुक्त रुपमा मेला आयोजनामा गर्न लागेको हो ।
‘स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको मेलाको उद्घाटन प्रदेश नम्बर ३ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले गर्नु हुनेछ ।
आज अपरान्ह ४ बजे उद्घाटन भए पनि पूर्ण रुपमा २९ गतेदेखि मेला सुरु हुने मेला संयोजक होमनाथ उपाध्यायले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको हो ।
हेटौंडा–२ पल्पसा हलमा हुने मेलामा देशभरका ७ वटा जुत्ता चप्पल उत्पादन कम्पनीका ६० वटा र अन्य स्थानीय पसलहरुको गरी करिब ८५ वटा स्टल रहने जनाइएको छ ।
उद्योग नै स्टल राख्ने गरी आएको बताउँदै आयोजकले मेलामा जुत्ता चप्पल गुणस्तरीय रहने विश्वास दिलाएको छ । मेलामा उपभोक्ताले १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट पाउने आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क रहेको पनि जनाइएको छ ।
यसअघि विराटनगरमा मेला आयोजना गरिएको र दोस्रो मेला हेटौंडामा गर्न लागिएको हो । मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु ९पर्स, बेल्टलगायत० अवलोकन गर्न सकिनेछ ।
नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।







