मधेशमा सिके राउतको आडमा राजनीति गर्ने दिन समाप्तः रामनारायण विडारी
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सिके राउतको आडमा मधेशमा राजनीति गर्ने दिन समाप्त भएको बताउनु भएको छ ।
आज हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सांसद विडारीले सिके राउतको आडमा मधेशमा आन्दोलन गर्नेहरुलाई अहिले संविधान बिरोधी गतिविधि गर्न असहज भएको बताउनुभयो ।
राउतसंगको सहमती नेकपा भित्र कै केहिलाई मन नपरेको भन्दै उहाँले भिम रावेलले समेत संझौतालाई बुझेर पनि गलत अर्थ लगाएको टिप्पणी गर्नुभयो ।
सरकार र सिके राउत बीच सहमती भएपछि मात्रै आफुले यो विषयमा जानकारी पाएको भएपनि सरकारले गरेको सहमतीले मुलुक विखण्डनको लागि राजनिती गर्नेहरुको अन्त्य हुने विस्वास व्यक्त गर्नुभयो ।
उहाँले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि सरकारले तिरस्कार नगरी वार्ता गरेर सहमतीमा ल्याउनु पर्ने बताउनु भएको छ । सिके राउत र विप्लवलाई सरकारमा मात्र हैन नेकपामा ल्याउन सके मुलुकको परिवर्तनमा टेवा पुग्ने उहाँको धारणा छ ।
सांसद विडारीले सिके राउतलाई सरकारले बडो मेहनत र संवेदनसिलताका साथ वार्ता ल्याएको भन्दै उनिसंग गरिएका सहमतीलाई अपव्याख्या नगर्न संचारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो।
संचारकर्मीहरुलाई सकारात्मक सन्देश जाने खालका समाचार सम्प्रेषण गर्न सुझाव दिँदै उहाँले आफ्नो व्यक्तिगत स्वार्थको लागि कुनै कदम नचाल्ने तर राष्ट्रियसभा र संसद्मा जनताको हितका लागि विद्रोह गरिरहने बताउनुभयो ।







