नेपाल महिला संघ प्रदेश ३ र ४ को संयुक्त प्रशिक्षण हेटौंडामा सुरु (फोटो फिचर)

छहारी संवाददाता
फाल्गुन २७, २०७५

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिको आयोजनामा समान दायित्व र समान अवसर भन्ने मूल नाराका साथ ३ र ४ नम्बर प्रदेशका महिलाहरुलाई दुईदिने संयुक्त प्रशिक्षण सोमबारबाट हेटौंडामा सुरु भएको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले मुलुकको विकासमा महिलालाई समान अवसर र सहभागिता दिए पुरुषले भन्दा बढी काम गरेर देखाउन सक्ने बताउनुभएको छ ।

कांग्रेसमा पञ्चायतदेखि राजा फाल्न र प्रजातन्त्र प्राप्तिका लागि अमूल्य योगदान गर्ने साहशी महिलाहरुले भरिएको बताउँदै केन्द्रीय सदस्य डिनाले अहिले दुई तिहाईको कम्युनिष्ट सरकार समृद्ध नेपाल बनाउने नाममा मंहगीले जनतालाई आक्रान्त पार्दै भ्रष्टचारी, हत्यारा र बलत्कारीलाई बचाउन दिलोज्यान दिएर लागिपरेको बताउनुभयो ।

प्रशिक्षणको उद्घाटन सत्रमा महिला संघकी केन्द्रीय महासचिव धना खतिवडा, उपाध्यक्ष सरस्वती तिवारी, केन्द्रीय सदस्यहरु तारा अधिकारी, गोमा गुरुङ, काठमाडौ जिल्ला अध्यक्ष विष्णु पुडासैनी, गोर्खा जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य कुमारी गुरुङ, नुवाकोट अध्यक्ष एवं प्रदेशसभा सदस्य कल्पना नेपाली, प्रदेशसभा सदस्यहरु रजनी जोन्छे, विजया केसी, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भोली मंगलबारसम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*