बिच भागमा फहराइरहेको ५१ फिटको राष्ट्रिय झण्डाले बढायो औद्योगिक व्यापार मेलामा रौनकता (फोटो फिचर)
हेटौंडाको क्याम्पा चौरमा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ ।
फागुन १६ गते नै उद्घाटन गर्ने गरी तयारी गरिएको भएपनि १५ गते राती आएको हावा हुरी र वर्षाले मेला स्थलमा पानी जम्नुका साथै स्टलमा क्षति पुर्याए पछि मेला आजका लागि सारिएको हो ।
दुइ दिन ढिला गरी सुरु भएकाले अब मेला २८ गतेसम्म चल्नेछ । विहान १० बजे देखि साँझ साढे ६ बजे सम्म मेला चल्नेछ ।
मेला अवधिभर अवलोकनका लागि आउनेहरुका लागि रिद्धसिद्ध सिमेन्टले निशुल्क बस सेवा समेत संचालन गरेको छ । मेलामा आउने सर्वसाधारणले हेलिकोप्टरबाट सःशुल्कहेटौंडा बजार लगायत प्राचीन स्थलको अवलोकन गर्न सक्ने व्यवस्था पनि छ ।
यस्तै मेलामा निशुल्क स्वास्थ्य परिक्षण सेवा समेत संचालन गरिएको छ । मेलामा बाल उद्यान, रोटेपिङ, घोड चडी, कृतिम चिडिया घर, तयारी कपडा तथा जुत्ताका स्टल सहित ४ सय ४४ स्टल रहेका छन् ।
मेलाको बिच भागमा फहराइरहेको ५१ फिटको राष्ट्रिय झण्डाले अझ राष्ट्रिय औद्योगिक ब्यापारिक मेलामा रौनकता थपेको छ । मेला स्थल वरपरका बस्तीबाट समेत क्याम्पा चौरमा लागेको मेला र राष्ट्रिय झण्डा प्रस्ट देख्न सकिन्छ ।
मेला स्थलको प्रवेशद्धार मै मकवानपुरको पहिचान बोकेको मदानी सहितको ठेकि पनि तपाइले अवलोकन गर्न पाउनु हुनेछ । यस्तै थाहा आन्दोलनका प्रणेता रुवचन्द्र विष्टको जिवनी सहितको फोटो, थाहा नगर भित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रको बारेमा जानकारी सहितका तस्विरहरु पनि हेर्न पाउनुहुनेछ ।
मेलामा भोलीबाट स्थानिय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न प्रस्तुति पनि हेर्न सकिनेछ । भोली हास्य कलाकार जितु नेपाल (मुन्द्रे)लगायतका हास्य कलाकारको प्रस्तुती रहने आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
मेलाको मुख्य प्रायोजक शिवम् सिमेन्ट उद्योग रहेको छ भने संरक्षकमा जिल्ला समन्वय समिमि मकवानपुर र हेटौँडा उपमहानगरपालीका कार्यलय रहेको छ ।
यस्तै मेलाको प्रवद्र्घकहरु भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ती, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास परियोजना प्रदेश तिन, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, कृषि व्यवसाय प्रवद्घन कार्यक्रम, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेकाछन् ।







