मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, भोलि शोक मनाउन सार्वजनिक बिदा
सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।
ताप्लेजुङमा आज भएको हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीको सम्मानमा भोलि देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि भएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम, नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकास प्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहनुभएको छ ।







