भोली देखि २६ गतेसम्म हुने औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा

छहारी संवाददाता
फाल्गुन १६, २०७५

मकवानपुर उद्योग बाणिज्यसंघले भोली देखि २६ गतेसम्म हेटौंडा ५ क्याम्पाडाँडा चौरमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मेला हुने स्थल सिङगारी सकिएको छ भने विभिन्न वस्तुहरुको ४ सय ४० वटा स्टल निर्माण अन्तिम चरणमा रहेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चौरको पुर्व पट्टि स्टेज बनाईएको छ भने बाल उद्यानको छुट्टै व्यवस्था गरिएको छ ।

मेलामा उद्योगका १५, महिला हस्तकलाका २०, अधिकृत विक्रेता ३०, कृषिका १०, अटो १०, मोवाईलका २०, कम्प्युटरको २०, होटल २० र आईसक्रिमका १०, हस्तकला र अन्य स्टल रहने जानकारी दिइएको छ । मेलाको उदघाटन प्रदेश तीका मुख्यमन्त्री डोरमणी पौडेलले गर्नुहुने मकवानपुर उद्योग बाणिज्यसंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मेलामा यो वर्ष संभवत नेपालकै सबैभन्दा अग्लो ५१ फिटको राष्ट्रिय झण्डा फहराइने जानकारी समेत दिनुभयो ।

पाँच लाख जनाले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा पाँच करोड रुपैया बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

मेलामा हरेक दिन बिशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ भने निःशुल्क औषधि समेत विरण गरिने आयोजकले जनाएको छ । बिहान १० बजे देखि साँझ साँढे ६ बजे सम्म मेला अवलोकन गर्न सकिनेछ ।

यसैबीच, २६ गतेसम्म चल्ने मेला अवलोकनका लागि आउनेहरुलाई  ३ ओटा बस निशुल्क संचालन गर्न लागिएको यसअघि नै जानकारी गराइसकिएको छ ।

मेला अवलोकनका लागि आउनेहरुलाई सहज  होस भन्ने उदेश्यले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडाको मुख्य बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म निशुल्क बस संचालन गर्ने भएको क्षेत्रिय विक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिनुभयो ।  

जिल्ला प्रहरी कार्यालय चोक, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक तथा शितलमहल चोकबाट बस सेवा संचालन हुने  खतिवडाले बताउनुभयो । उहाँले निशुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको पनि खतिवडाले बताउनुभयो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*