पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको पुष्टी (अपडेट)

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।
दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप(महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको निधन भएको छ ।
दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर केसीको पनि निधन भएको छ ।
सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ । हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’ जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले जानकारी दिनुभयो ।
पाथिभराबाट तेह्रथुममा रहेको चुहानडाँडा विमानस्थलको अवलोकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।
एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।
दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।
दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो ।
पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।







