आज हरिबोधिनी एकादशी, यस्तो छ महिमा

आज कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घर घरमा तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । ठूलो एकादशी पनि भनिने आजको दिन चार नारायण अर्थात भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायणमा विशेष मेला लाग्दछ ।
आजको दिन व्रतालुहरुले सखरखन्ड र पिँडालुको फलाहर गर्ने गर्दछन् ।







