ओली र प्रचण्ड नेतृत्वको नेकपालाई वैधानिकता

निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ ।
तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो ।
कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।
फैसला अघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधबार छलफल गरेको थियो । आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलग अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो ।







