म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु

म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरु मध्ये ८ जनाको शव भेटिएको छ । गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपाली मध्ये ८ जनाको शव भेटिएको हो ।
७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । गुर्जाखानी गाउँबाट ५ घण्टाको दूरीमा गूर्जा हिमालको बेसक्याम्प पर्दछ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको बताउनुभयो ।
टोलीमा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन तथा नेपाली नागरिकमा वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे रहेका छन् । अन्य दुई जना भने गाउँकै नागरिक हुन सक्ने बताइएको छ ।







