आज ६३ औं प्रहरी दिवस
नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदैछ ।
दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार सिभिलियन तर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखकलाई पनि पुरस्कृत गरिनेछ ।
सोही अवसरमा पूर्व उच्च प्रहरी अधिकारीहरुबीच पनि पुनर्मिलन कार्यक्रम राखिएको छ ।
दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।







