बडादशैंको दोस्रो दिन भगवती ब्रहमचारिणीको पूजा गरिँदै

नेपालीहरुको महान चाड बडादशैं अर्थात नवरात्रको दोस्रो दिन आज देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।
देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठहरुमा ठूलो घुइचो लागेको छ ।
ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।
ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।
माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गरिन्छ ।







