नेपालीहरुको महान चाड बडा दसैं आजबाट सुरु

नेपालीहरुको महान चाड बडा दसैं आजबाट सुरु भएको छ ।
नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदैछ । घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा जमरा राखिएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजैदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।
आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन कात्तिक २ गते मान्यजनको हातबाट टीकासँगै लगाइन्छ ।
कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।







