देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदै

काठमाण्डौँ उपत्यका लगायत देशका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ ।
तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोराको मृत्युको शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन राजाले शहरमा वर्षभरि कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
गाई पाल्नेहरूले भने साच्चिकै गाईलाई सिङ्गारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रङ्गीबिरङ्गी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ ।
पछिल्लो समय मुलुकको राजनीति तथा सामाजिक विसङ्गति प्रति व्यङ्ग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ । उपत्यकामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
काठमाडौं उपत्यका लगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका सहरहरू बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।







