हार्दिक श्रद्धाञ्जलीः साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट ग्रसित साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।
२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनु भएका दाहालको शुक्रबार साँझ धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ ।
बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौला रोग उपचार केन्द्रमा पुग्नु भएका दाहाललाई समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो।
आइसियुमा दुई दिन उपचार गरिएपछि शुक्रबार उहाँलाई सुमेरु अस्पताल रिफर गरिएको थियो। सुमेरु अस्पतालमा उपचारका क्रममा आज साझ उहाँको निधन भएको हो ।
दुवै मिर्गौलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । तर फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उहाँले हप्तामा तीन दिन डायलासिस गराउँदै आउनुभएको थियो ।
वि. सं. २०१० सालमा खोटाङको खाल्लेमा जन्मिनु भएका दाहालले रेडियो नेपालमा चलाएको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ नेपाली श्रोतामाझ निकै लोकप्रिय थियो ।
अभिवादन गर्दा ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो । दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तर्वाता र रेडियो मार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याउनु भएको थियो ।







