विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द

सरकारको निर्णय अनुसार आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द भएको छ ।
भारत सरकारले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाए सँगै त्यहाबाट हुने सेवा बन्द भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो ।
भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फिल्ड अफिसबाट कुनै पनि सेवा दिइने छैन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल गरेका थिए ।
२०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो ।
सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकोले रुट परमीटको लागिसमेत उक्त कार्यालय प्रयोगमा ल्याइएको थियो।







