हेटौंडाको बजार क्षेत्रमा गरिने नो पार्किङको निर्णयबाट पछि हटिन्नः मेयर महत
मकवानपुर उद्योग बाणिज्यसंघले हेटौंडाको राप्तीरोडमा नो पार्किङको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने पुनः चेतावनी दिएको छ ।
यसअघि राजमार्ग क्षेत्रमा मोटरसाइकल पार्किङ गर्न पाउनुपर्ने माग गर्दै बजार बन्दसम्मको चरणबद्ध आन्दोलन घोषणा गरेको उद्योग बाणिज्यसंघले चौतर्फी बिरोधपछी स्थगित गरेको थियो ।
मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले आज पत्रकार समेलन गर्दै मुल सडकमा पार्किङ गर्न नपाएकाले आफ्ना रोजीरोटी खोसिन लागिएकाले आफुहरु चुप लागेर नबस्ने भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले नो पार्किङको निर्णय बिरुद्ध आन्दोलनमा जानका व्यावसायीहरुलाई आग्रह समेत गरे ।
यता हेटौडा उपमहानगरपालिकाले राजमार्ग क्षेत्रमा सवारी पार्किङ गर्न नमिल्ने कानुनी व्यवस्था रहेको र अबको केही दिनमै राजमार्ग क्षेत्र अन्तरगत राप्तिरोड, मेनरोड र साखा रोड अन्तरगत स्कुलरोडमा नो पार्किङ जोन तोक्ने योजना अघि सारेको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको मुख्य बजार क्षेत्रमा पार्किङ गर्न पाउनुपर्छ भन्नु नाजायज माग भएको बताएका छन् । बजार क्षेत्रमा दिनहुँ सवारी जाम बढेकाले त्यहाको पार्किङ हटाउन लागिएको भन्दै मेयर महतले कुनै हालतमा यो निर्णयबाट पछि नहट्ने दाबी गरे । काठमाण्डौ, पोखरा, चितवन लगायतका कुनैपनि शहरमा आफ्ना पसल अगाढी पार्किङ गरेर राख्न मिल्ने व्यवस्था नरहेको उनको भनाइ छ ।







