छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

छहारी संवाददाता
साउन ८, २०७५

पर्सा, बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ सोनवर्षमा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको हो ।स्थानीय बुरदिन मियाँ अन्सारीले सञ्चालन गरेको बर्कत राइस मिलमा धान कुट्ने क्रममा मियाँकै छोरा ३५ वर्षीय मोजिबुर रहमानको मृत्यु भएको हो ।धान कुट्ने क्रममा राति साढे ११ बजेतिर मोजिबुर मिलको फित्तामा अल्झेर गम्भीर घाइते भएका थिए ।उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताडीएसपी सत्य नारायण थापाले जानकारी दिए ।त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।दुर्घटनामा पर्साको पटेर्वासुगौली गाउँपालिका बस्ने शम्भु चौधरीको श्रीमती ३५ वर्षीया प्रेमशिला चौधरीको मृत्यु भएको हो ।जीतपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारमै राति ८ बजेतिर दुर्घटना भएको थियो ।

वीरगञ्जबाट जीतपुरतर्फ जाँदै गरेको एच आर३८डब्लु ३२९४ नम्बरको ग्याँस बुलेटले पैदल यात्री प्रेमशिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले जानकारी दिए । बुलेटले किचेपछि उनको घटना स्थलमै मृत्यु भएको थियो ।चालक र ग्यास बुलेटलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसैबीच पर्साको बहुदरामाई नगरपालिका-४ डकैला बहुअरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।स्थानीय रुपचन्द्र महतोका १२ वर्षीय छोरा रामबाबु महतोको पोखरीमा डुबेर मृत्यु भएको हो ।सोमबार साँझ नजिकैको वीरेन्द्र यादवको माछा पोखरीमा पौडी खेल्न गएका रामबाबु डुबेर गम्भीर अवस्थामा पुगेका थिए ।उपचारका लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*