मलेठ घटनाको सरकारी प्रतिवेदन अमान्यः राजपा सप्तरी । के हो मलेठ घटना ?
सप्तरीको मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत प्रतिवेदन दिएको भन्दै राष्टिय जनता पार्टी ९राजपा० सप्तरीले आन्दोलन घोषणा गरेको छ । आयोगले दिएको प्रतिवेदन घटना विपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
के हो मलेठ घटना ?
तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर मलेठका ५ जनाको मृत्यु भएको थियो ।
अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा झडप भएको थियो । उक्त घटनामा प्रहरीको गोली लागेर संजन मेहता, वीरेन्द्र महतो, प्रसौनीका आनन्द साहसहित पाँच जनाको मारिएका थिए ।
लगत्तै आयोगले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो । तर राजपाले समितिको रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलका अनुसार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइने छ ।
आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा समितिले सार्वजनिक गरेको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।
शनिबार दिन दिनको १ बजे रुपनी बजारको बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको वृहत भेला गरी थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।







