पहिरोका कारण गोरखा र पर्वतमा ४ जनाको मृत्यु

गोरखा र पर्वतमा पहिरोमा परी ४ जनाको ज्यान गएको छ । गोरखाको शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर ६ मा रहेको नवराज कुँवरको घर पहिरोले बगाउँदा उहाँकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र कुवँकी नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताउनुभयो ।
यस्तै, पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको ज्यान गएको छ । मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ ।
पहिरोले घर पुरिएर बमबहादुरका १६ वर्षीय छोरा विकास परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा परि बेपत्ता भएको भनिएका अन्य चार जना भने सम्पर्कमा आएका छन् । सोमबार बेलुका नै पहिरो आउँदैछ भनेर भागेको उनिहरुले बताएका छन् ।
पहिरोबाट उच्च जोखिममा परेका १६ घर परिवारलाई सरक्षित स्थानमा सारिएको छ । स्थानीयबासी लगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत अबरुद्ध छ ।






